खैरहनीमा भएको वक्तृत्वकलामा सैनिक महाविद्यालयकी तिमिल्सीना प्रथम
चितवन , १४ फागुन ।
खैरहनीमा भएको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी मञ्जिला तिमिल्सीना प्रथम भएकी छिन् । खैरहनी नगरपालिकाको आयोजनामा शिक्षाको गुणस्तर अभिवृद्धिमा स्थानिय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा तिमिल्सीना प्रथम भएकी हुन् ।
आज भएको वक्तृत्वकला प्रतियोगितामा जनएकता आधारभूत विद्यालयका हक्र्युलियन न्यौपाने द्धितिय, दिव्यज्योती आधारभूत विद्यालयकी अन्जना भुषाल तृतिय र डेजी बोर्डिङ्गकी विजा उप्रेतीले सान्त्वना स्थान हासिल गरिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३ हजार , द्धितियलाई नगद २ हजार , तृतिय हुनेलाई १ हजार ५ सय र सान्त्वना हुनेलाई १ हजार सहित मेडल , ट्रफि र प्रमाणपत्र प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । उनीहरुलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र उप प्रमुख कविता उप्रेतीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका १९ जना सहभागी रहेका थिए । प्रतियोगितामा हिम शर्मा पौडेल , शिवराम मरहठ्ठा र हिमकला दवाडी निर्णायकको रुपमा रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले अतिरिक्त क्रियाकलापसँग सम्बन्धीत विभिन्न प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुको क्षमता बाहिर ल्याउन सकिने बताए । उनले निजी र सामुदायिक विद्यालयहरुबिच शिक्षाको बिषयमा स्वस्थ प्रतिस्पर्धा हुन आवश्यक रहेकोमा जोड दिए । अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत आज पहिलो दिन वक्तृत्वकला प्रतियोगिता संचालन भएको छ भने सोमबार चित्रकला प्रतियोगिता , मंगलबार हाजिरीजवाफ प्रतियोगिता र बुधबार नृत्य प्रतियोगिता हुने खैरहनीका रोजगार संयोजक रमेश पौडेलले जानकारी दिए ।


















