पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइनन्, जुद्धशमशेरका छोरा हुन्ः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेर राणाका माहिला छोरा भएको बताएका छन् । बिहीबार कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको बताए । ‘तपाईंहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन्’ उनले भने ।
१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको हो’ ओलीले भने, ‘त्यतिबेला प्रधानन्यायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो’ उनले भने, ‘त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्धशमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो । सम्भवतस् जुद्धशमशेरको माइलो छोरा थिए । उनी नेपालको पहिलो प्रधानन्यायाधीश भएका थिए ।’ उनले जुद्धशमशेरको छोराको नाम भने लिएनन् ।
कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उनी भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्यायाधीश बनाउन संविधान संशोधन गरिएको बताए ।