प्रचण्डलाई पद गुम्ला कि भन्ने डर छ : गगन थापा
काठमाडौँ ,१० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताएका हुन् । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको दाबी गरे ।
‘अहिले म यसो नेताहरू हेर्छु– पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्को पटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ, अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान कि भन्ने डर छ,’ उनले भने, ‘जुनसुकै ठाउँमा पुगेको भएता पनि मान्छेलाई जति छ, त्योभन्दा बढी पाउने इच्छा भइरहन्छ ।’ उनले बालबालिकाहरूलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए । बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनु पर्ने तर एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ थियो । महामन्त्री थापाले बालबालिकालाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए ।