फजुल खर्च कम गर्न सरकार र दलहरूलाई नेता कोइरालाको आग्रह
काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधान गर्न फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन र जनताको अपेक्षाअनुसार काम गर्न संसद, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउन सबै मन्त्रीहरूलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए । उनले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिहरूसँग मुलुकको आर्थिक संकटबारे गम्भिर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढन राजनीतिक दलहरु प्रतिवद्ध हुनु पर्ने बताए । नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढनु पर्ने भएकाले सोहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न सरकारलाई सचेत गराएका थिए ।