स्नातक तह अध्ययन गर्ने ७ जना छात्राहरुलाई खैरहनीले दियो छात्रवृत्ति
चितवन , ५ जेठ । खैरहनी नगरपालिकाले स्नातक तह अध्ययनको लागि सातजना छात्राहरुलाई छात्रवृत्ति दिएको छ । भुवानिशंकर बहुमुखी कलेजमा स्नातक तहको प्रथम बर्षमा अध्ययनरत ७ जना छात्राहरुलाई छात्रवृति दिएको हो ।
खैरहनी नगरपालिकाले थारु , दलित , अपाङ तथा विपन्न परिवारका छात्राहरुलाई स्नातक तह प्रथम बर्षमा अध्ययनको लागि छात्रवृति दिने उद्देश्यले निवेदन आवहन गर्दा जम्मा ७ जनाले निवेदन दिएको खैरहनीका नगर शिक्षा अधिकारी राजु वानियाँले जानकारी दिए । आवेदन दिएकाहरुलाई आज औपचारिक रुपमा छात्रवृत्ति प्रदान गरिएको नगर शिक्षा अधिकारी वानियाँले बताए । सातजना छात्राहरुको प्रथम बर्ष अध्ययन गर्दा कुल २ लाख १ हजार रुपैयाँ खर्च हुने छ । लाग्ने खर्चको ९० प्रतिशत रकम नगरपालिकाले र १० प्रतिशत रकम कलेजले बेहोर्र्ने सम्झौता भएको छ ।खैरहनी नगरपालिकाले स्थापना गरेको छात्रवृत्ति कोषबाट उक्त रकम प्रदान गरिने छ ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र भुवानीशंकर कलेजका प्रमुख दिपक प्रसाद गौतमबिच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो । आज छात्रवृत्ति प्राप्त गर्ने छात्राहरुलाई स्नातक तहको दोस्रो, तेस्रोे बर्षमा समेत निरन्तर छात्रवृत्ति प्रदान गरिने खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले बताए । वार्षिक परिक्षामा उत्तिर्ण नहुनेहरुलाई भने छात्रवृत्ति रोकिने उनले बताए । कक्षा १२ सम्म निशुल्क शिक्षा रहदै आएको र आर्थिक अवस्था कमजोर भएको कारण उच्च शिक्षा अध्ययन गर्नबाट छात्राहरु वन्चित नहुन् भनेर पदवहाल गरेकै दिन गरेको निर्णयलाई व्यवहारिक रुपमा उतारिएको नगर प्रमुख खनियाँले बताए ।
खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र उप प्रमुख कविता उप्रेतीले निर्वाचित भएपछि पहिलो निर्णय नै खैरहनी नगरपालिकाभित्रका सामुदायिक , सार्वजनिक कलेज वा क्याम्पसमा अध्ययनरत थारु , दलित , अपाङ , अल्पसंख्यक समुदायका विपन्न परिवारका छात्राहरुको शिक्षामा समान पहुँच कायम गर्न उक्त समुहका छात्राहरुलाई स्नातक तहसम्मको अध्ययन गर्न सहयोग पुग्ने गरि नगरपालिकाले छात्रवृत्ति कोषको स्थापना गर्ने निर्णय गरेका थिए ।