विद्यालयलाई जग्गादान गर्ने दातालाई ५६ बर्षपछि सम्मान
चितवन , २१ जेठ । खैरहनीको राष्ट्रिय आधारभुत विद्यालय टुंङ्गारा स्थापनाको गर्न जग्गादान गर्ने जग्गादातालाई विद्यालयले सम्मान गरेको छ । २०२४ सालमा विद्यालय स्थापना गर्न जग्गा दान गर्ने स्वर्गिय वावुकृष्ण शर्मालाई मरणोपरान्त सम्मान गरेको हो । स्वर्गिय शर्माको सम्मानपत्र उनको छोरा प्रविण शर्मालाई आज एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले सम्मान पत्र र दोसल्ला ओढाएका हुन् । त्यस्तै विद्यालयका संस्थापक भक्त बहादुर श्रेष्ठलाई समेत मरणोपरान्त सम्मान गरिएको छ । श्रेष्ठको सम्मानपत्र उनको छोरा गुणराज श्रेष्ठलाई प्रदान गरिएको हो ।
विद्यालय स्थापना तथा संचालनमा योगदान पुर्याएका विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु , पुर्व प्रधानाध्यपक , शिक्षक तथा अन्य सहगोगी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सम्मान गरिएको छ । त्यस्तै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण भएको दुई कोठे भवनको आज पर्यटन तथा उद्योग मन्त्री महर्जनले उद्घाटन गरेका छन् ।
सम्मान तथा भवन उद्घाटन कार्याक्रममा बोल्दै प्रदेश सभा सदस्य जगन्नाथ थपलियाले राम्रो काम गर्दा ढिलो चाडो सबैको कदर हुने बताए । जग्गादान गरेको बर्षौैपछि विद्यालयले सम्झेर खोजी खोजी सम्मान गर्दा अन्यलाई समेत यस्ता पुण्यको काम गर्न प्रेरणा मिल्ने उनले बताए । उनले विद्यालयको भौतिक पुर्वाधारको लागि अघिल्लो पटक बागमती प्रदेश सरकारले २५ लाख रुपैयाँ प्रदान गरेको भन्दै यसपटक समेत बजेट आवश्यक रहेको भन्दै मन्त्री महर्जनलाई आग्रह गरे । उनले शिक्षामा समयसापेक्ष परिवर्तन आवश्यक रहेको भन्दै शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जग्गादाताका छोरा प्रविण शर्माले बुवाले गरेको पुण्य कामले परिवार खुुसी रहेको बताए । शिक्षाको उज्यालो विना समाजमा विकास हुन सक्दैन भन्ने सोच आफ्नो बुवाको रहेको र सोहि अनुरुप सहयोग गर्नुभएको उनले बताए । आजको सम्मान कार्यक्रमले कर्म गर फलको आश नगर भन्ने भनाईलाई सिद्ध गरेको उनको दावी छ । सोहि अवसरमा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि झोला समेत वितरण गरेका छन् । त्यस्तै उनले आगामी दिनमा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले यस क्षेत्रबा वासिन्दाले पढ्न पाउन भन्ने अभिलासाको साथ जग्गा दान गर्ने स्वर्गिय वावु कृष्ण श्रेष्ठले ठूलो योगदान दिएको बताए । विद्यालय उज्वल भविष्यको सुरुवात गर्ने मन्दिर भएको र वालवालिकाहरुलाई शिक्षा दिने शिक्षकहरु जिवित देउता भएको मन्त्री महर्जनले बताए । उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अधयक्ष पद्मराज खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापकका छोरा गुणराज श्रेष्ठ , विद्यालयकी प्रधानाध्यापक विमला खनियाँ , ग्रिन सोसाइटीका अध्यक्ष शेर बहादुर परियार ,सम्मान कार्यक्रमका संयोजक हरि प्रसाद गजुरेल ,पुर्व विद्यार्थी कमलराज पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष राज सिलवाल , नेकपा एमालेका नगर अध्यक्ष पूर्ण प्रसाद डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।