ग्लो साइनका विद्यार्थीहरुलाई दुना टपरी गास्ने तालिम
चितवन , २२ जेठ । चितवनको खैरहनीमा रहेको ग्लो साइन एकेडेमीले विदाको समयमा विद्यार्थीहरुलाई संस्कृति संरक्षण तथा जीवनउपयोगी तालिम दिएको छ । चितवनमा गर्मी बढेको भन्दै खैरहनी नगरपालिकाले विद्यालयहरु पाँच दिन विदा गर्ने निर्णय गरेको छ । सोहि विदाको समयमा खैरहनी ८ पर्सामा रहेको ग्लो साइन एकेडेमीले भने विद्यार्थीहरुलाई फरक किसिमको तालिम दिएर विदाको सदुपयोग गरेको हो ।
कितावी ज्ञान मात्रै दिएर नहुने भन्दै विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले विहानी समयमा विद्यार्थीहरुलाई संस्कृति संरक्षण तथा जिवन उपयोगी तालिमको रुपमा दुना टपारी गास्ने तथा बत्ती कात्ने तालिम दिइएको विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए । पछिल्लो समय ओझेलमा पर्दै आएको दुनाटपरी र बत्ती कात्ने प्रचलनको बिषयमा विद्यार्थीले समेत जानकारी पाउन् र त्यसप्रति विद्यार्थीको लगाव बढोस् भन्ने उदेश्यले शनिबार र आइतबार दुईदिन तालिम दिइएको प्रधानाध्यापक अधिकारीले बताए । विद्यार्थीहरुलाई केहि अभिभावकहरु र विद्यालयका शिक्षकहरुबाट नै तालिम दिइएको उनले बताए । तालिममा कक्षा ६ देखी १० सम्मका एक सयजना विद्यार्थीहरुको सहभागीता रहेको विद्यालयले जनाएको छ ।