बहसमा वकिलले भने : म भए यति धेरै धैर्य गर्न सक्दिनथेँ, जुन श्रीमानले गरिरहनु भएको छ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस भइरहेको छ । आइतबारदेखि सुरु भएको बहसमा प्रतिवादीका तर्फबाट ३८ जना कानून व्यवसायीले बहस गरिसकेका छन् ।
बहस सुरु भएसँगै सुरुका तीन दिन सरकारी वकिल कार्यालयले जाहेरवालाको तर्फबाट बहस गरेका थिए । जाहेरवालाका तर्फबाट आठ जना सरकारी वकिलसहित १४ जनाले बहस गरे ।
बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भएको छ । प्रतिवादीका तर्फबाट बहस गर्न ६ दिन समय तोकिएको छ । छोटो समयमा बहस सक्नु पर्ने भएकाले न्यायाधीश प्रेमप्रसाद न्यौपानेले चाँडो बहस गर्न वकिलहरूलाई आग्रह गरेका थिए ।
तर, शुक्रबारसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सानु भण्डारी, केशव दुलाल, सागर राई, टंकप्रसाद गुरुङ, इन्द्रजित राईलगायका कानून व्यवसायीले मात्रै बहस सकेका छन् ।
अब पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित प्रतिवादीका कानून व्यवसायीले बसह गर्न बाँकी रहेको छ ।
आजको बहसमा न्यायधीश न्यौपानेले रायमाझीको तर्फबाट बहस गरिरहेका वकिलहरूलाई एउटै कुरा नदोहोर्याउन आग्रह गरिरहे ।
न्यायधीश न्यौपानेले रायमाझीको तर्फबाट आज ५ बजेसम्म बहस सक्न समय दिएका थिए । ‘तपाईहरू बुझ्ने हुनुहुन्छ, मंगलबारसम्म सबै प्रतिवादीको तर्फबाट बहस सक्नु पर्ने भएकाले आफै समय मिलाएर बहस सिध्याउनुस्’, उनले आग्रह गरे ।
यसै क्रममा पूर्वउपप्रधानमन्त्री रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता ज्ञानेश्वर पराजुलीले बहस गरे । उनलाई न्यायाधीशले नै बहस गर्न आग्रह गरेका थिए ।
रायमाझीका छोराको तर्फबाट बहस गर्न बसेका पराजुली न्यायधीशको आग्रहपछि फरक कुरा राख्छु भन्दै बहस थाले । उनले सुरुमा न्यायाधीशको प्रशंसामा समय खर्चिए । उनले भने, ‘म भए पनि यति धेरै धैर्य गर्न सक्दिनथेँ, जुन श्रीमानले गरिरहनु भएको छ ।’