देउवालाई लक्षित गर्दै गगन थापाले भने : एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री किन बन्ने ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्ति दुई पटकभन्दा बढी किन प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न गरेका छन् ।
सभापति शेरबहादुर देउवा प्रमुख अतिथि भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा देउवाप्रति लक्षित गर्दै महामन्त्री थापाले यस्तो प्रश्न गरेका हुन् ।
‘एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री किन बन्ने ? दुई, तीन, चारपटक प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन,’ उनले भने, ‘विधिसँग जोडिएको प्रश्न हो ।’
सभापति देउवा पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । एउटै व्यक्ति पटक-पटक एउटै पदमा रहने विषय पार्टीभित्र खुलेर छलफल गर्ने बेला आएको महामन्त्री थापाको भनाइ थियो ।
उनले पार्टीभित्र क्रियाशील सदस्यता वितरणको प्रक्रियाले गुट बनेको बताए । ‘गुट भत्काउने हो भने सदस्यता दिने प्रणाली भत्काउनु पर्ने छ’ उनले भने, ‘आम सदस्यले उम्मेदवार छान्ने विधि बनायौं भने गुट हुँदैन ।’
कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनको ११ औँ महाधिवेशन चितवनमा आजदेखि सुरु भएको छ ।