कांग्रेसमा नीति महाधिवेशन टारेर महासमिति बैठक
काठमाडौं , २८ असार। नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले माग गर्दै आएको नीति महाधिवेशन नगर्ने भएको छ । कांग्रेसमा नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषयको व्याख्या भइनसकेकाले हुने सम्भावना कम हुँदै गएको हो ।
नेताहरुले नीति महाधिवेशनको सट्टा विधानको व्यवस्था र अहिलेसम्मको अवस्था हेर्दा आगामी भदौ अन्तिम वा असोज पहिला साता महासमिति बैठक आह्वान हुने सम्भावना बढ्दै गएको बताउँछन् ।
२०७८ मंसिरमा भएको १४औं महाधिवेशनको क्रममा कांग्रेसले नेतृत्व मात्र चयन गरेर छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरे पनि नीति महाधिवेशन कस्तो हुन्छ ? यसले के गर्छ ? जस्ता विषयको व्याख्या कांग्रेसले गरेको छैन । तसर्थ नीति महाधिवेशन गरेर ५ वर्षका लागि नीति बनाउने महाधिवेशनका बेलाको सहमतिबाट नेताहरू पछि हटेका हुन् ।
नीति महाधिवेशन र महासमिति बैठक सहभागी संख्या बाहेक खास फरक छैन । त्यसैले अब नीति महाधिवेशनको साटो महासमिति बैठक गर्ने अनौपचारिक सहमतिमा नेताहरु पुगिसकेका छन् ।
कांग्रेस विधान अनुसार महासमिति बैठक गर्न समेत ढिला भइसक्यो । विधानको दफा २० मा महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक गर्ने भनिएको छ । महाधिवेशन सम्पन्न भएको डेढ वर्ष भइसक्यो ।
कांग्रेसका प्रचार विभाग प्रमुख केन्द्रीय सदस्य मीन विश्वकर्माले नीति महाधिवेशनको सट्टा महासमिति बैठक आह्वान गर्ने सम्भावना प्वल रहेको बताए ।
‘महाधिवेशनको हलले नीति महाधिवेशन गर्ने भने पनि यसबारे विधानमा केही बोलिएको छैन । अब गर्दा नयाँ अभ्यास सुरु गर्नुपर्ने हुन्छ । बरु विधानमा महासमिति बैठकको व्यवस्था छ । सहभागी संख्याबाहेक अरु फरक नभएकाले यसमा सहमति खोज्न सक्छौं,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने ।
संस्थापनको यो धारणामा संस्थापन इतर समूह पनि सहमत रहेको नेताहरू बताउँछन् ।
कांग्रेसले २ साउनमा केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यही बैठकको एजेण्डा तय गर्ने क्रममा बोलाउने परामर्श बैठकले महासमिति बैठक बोलाउने निर्णय गर्न सक्ने नेताहरू बताउँछन् ।
विधानअनुसार, हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवाले एक वर्षपछि २७ असारमा दिउँसो १ बजे बोलाएका थिए । तर, स्थगित गरेर पुनः साउन २ गतेका लागि सारिएको छ ।
अघिल्लो केन्द्रीय समिति बैठक गत वर्ष २७ असारमा सुरु भएर २ साउनमै सकिएको थियो ।