बलियो कम्युनिष्ट पार्टी बनाउन समाजावादी मोर्चा बनाएका छौँ : पम्फा भुसाल
काठमाडौँ , ०६ साउन । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् ।
यस क्रममा उनले एकीकृत हुनु पर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन् । उनले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने धारणा राखेकी थिइन् ।
‘अहिले एउटा बलियो कम्युनिष्ट पार्टी चाहिएको छ, तर बिडम्वना हाम्रो कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ, त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्ने गरी प्राप्त गरेका थियौँ,’ उनले भनिन् ।
समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने उनको भनाइ थियो । उनले अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकालाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने बताइन् ।
‘हामी अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ, हामीले समाजावादी मोर्चा बनाएका छौँ, मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने हो,’ उनले थपिन्, ‘अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो ।’
उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक बहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भूमिका निभाउने बताइन् । उनले कम्युनिष्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने बताइन् ।



















