सुन तस्करी काण्डमा एमालेले संसद्मा गृहमन्त्रीको जवाफ माग्ने
काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद्को लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
बैठकपछि एमालेका प्रमुख सचेतक गिरीले भने, ‘सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको छ । तथ्यगत रिपोर्ट के हो जवाफ माग्ने निर्णय दलको बैठकले गरेको छ ।’
गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा एमालेले थप कदम चाल्ने पनि गिरीले बताए ।
गिरीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको सुन तस्करी काण्डमा गृहमन्त्रीको संलग्नता स्पष्ट भएकोले कुर्सीमा बस्न योग्य नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
‘गृहमन्त्री संलग्न भएको स्पष्ट छ । त्यसकारण उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न भन्ने कुरा भयो,’ उनले भने, ‘राजीनामा हामीले मागेकै छौँ, मागिरहन्छौँ ।’
गिरीले उच्चस्तरीय न्यायिक समिति बनाएर यसमा संलग्न सबैलाई छानबिन र कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।