केन्द्रीय सदस्यप्रति प्रचण्डको ब्याङग्य- ‘धेरै त नसकौंला, तीन महिना जनताका बीचमा अभियान लिएर जाऔं’
काठमाडौं , १७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका केन्द्रीय सदस्यहरुलाई आगामी भदौं, असोज र कात्तिक तीन महिना जनताका बीचमा ‘जनतासँग माओवादी’ पार्टी अभियान लिएर जान निर्देशन गरेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले पार्टी नेताहरुको परिचालनको प्रस्ताव राख्दै पार्टीले चलाउने तीन महिने अभियानमा केन्द्रीय सदस्यहलाई वडा तहमै पुगेर संगठनात्मक काम गर्न निर्देशन गरेका हुन् ।
उनले पार्टीका नेता कार्यकर्ता अहिले शहर केन्द्रीत भएर विग्रेको भन्दै जनताका बीचमा तीन महिना विताएर आउन निर्देशन गरेका हुन् । उनले नेताहरुप्रति ब्याङग्यसमेत गरेर धेरै बिताउन नसकेपनि तीन महिना विताएर विधान सम्मेलनमा आउन भनेका हुन् ।
‘हामी शहर केन्द्रीत भएका छौं, धेरै त नसकौला, तर तीन महिना जनताका बीचमा प्रत्येक केन्द्रीय सदस्य पुगेर आऔं । त्यस अवधीमा सदस्यता विस्तार, कमिटि निर्माण गरौं, जनताकै बीचमा खाऔं, बसौ । वडालाई नै आधार बनाएर ६ हजार ७४३ वटै वडामै केन्द्रीत हाऔं,’ प्रचण्डले भने, ‘‘भदौं, असोज कात्तिकमा तीन महिना जनताका बीचमा पुगेर आएर विधान सम्मेलन मंसिरमा गरौं । त्यसपछि फेरि थप तीन महिना जनताका बीचमा जाने आधार निर्माण हुन्छ । अहिले कम्तीमा तीन महिना जनताका बीचमा माओवादीका हरेक केन्द्रीय सदस्य जाऔं ।’’
प्रचण्डले माओवादीले जितेका १२२ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय सदस्य, विज्ञहरु सम्मिलित भएर एउटा विशेष कमिटि बनाउने र त्यसले अबको ४ वर्ष के गर्ने , कसरी गर्ने भन्ने पूर्वाधार निर्माणको काम गर्नुपर्ने पनि बताए ।
उनले तीन महिने अभियानका क्रममा पार्टीबाट हिजो भएका गल्ती कमजोरीको समीक्षा गदै कमजोरी स्वीकारेर नयाँ ढंगबाट अब माओवादी जान चाहेको जनतामा विस्वस्त पार्ने काम गर्नुपर्ने बताए । विशेषगरी नयाँ युवा पुस्तालाई आकर्षित गर्ने गरि अभियानमा लाग्न उनले नेताहरुलाई निर्देशन गरेका हुन् ।