मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन, धेरै नहौसिनु : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको आरोप लगाएका छन् । उनले त्यस्तो मोडेलको अन्त्य यहाँ नहुने टिप्पणी गरेका छन् ।
गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको र त्यस्तै देखिएको बताए ।
ओलीले भने- मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति । यसको अन्त्इ यहाँ हुँदैन । तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?
उनले सरकारले अधिनायक भएर चल्न नहुने बताए ।
अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीति प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे ।
ओलीले भने- सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।
स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।
उनले अहिले शासनमा रहेका केही मान्छेहरुको कुनै आन्दोलनमा योगदान नभएको र उनीहरुले लोकतन्त्रका लागि लडेका मान्छेहरुलाइृ तर्साउने काम गर्न खोजेको आरोप लगाए । यसघटनालाई सामान्य रुपमा लिन नहुने ओलीको भनाई थियो ।