प्रधानमन्त्री न्यूयोर्क जाने, भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौं । प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् । उनको भ्रमणलाई आज बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागीताका लागि भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ’, बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री समेत रहेकी रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाँदै छन् । मन्त्रिपरिषदको यही बैठकले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय समेत गरेको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई एकसाथ संलग्न नेपाल धितोपत्र निस्कासन सातौं संशोधन नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयकै प्रस्तावमा धुलिखेल अस्पताल आपतकालीन केन्द्र तथा सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ३ अर्ब २० करोड ६० लाख जापानी यन अनुदान सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।



















