माओवादी अध्यक्ष प्रचण्डले देखे पार्टीमा १३ वटा संगठनात्मक समस्या
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संगठनमा १३ समस्या रहेको औल्याएका छन् । माओवादीको गत साउन १७ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा पार्टीका प्रदेश समितिहरू र विभागबाट प्राप्त रिपोर्टहरूका आधारमा संगठनमा देखापरेका समस्या औल्याएका छन् ।
प्रचण्डले पेस गरी केन्द्रीय समितिले पास गरेको प्रतिवेदन बल्ल आज केन्द्रीय सदस्यलाई वितरण गरिएको छ । वितरित १० पेजको प्रतिवेदनको केही अंक मेरो न्यूजलाई प्राप्त भएको छ । प्राप्त प्रतिवेदनको अंशमा संगठनात्मक समस्याबारे पनि उल्लेख छ । त्यसमा उल्लेख भएका १३ संगठनात्मक समस्यामध्य पहिलो समस्य प्रचण्डले आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्तिलाई औल्याएका छन् ।
त्यस्तै अन्य प्रचण्डले पार्टी संगठनमा देखेका समस्या यस्ता छन् ।
– गुटबन्दी गर्ने प्रवृत्ति ।
– समितिको बैठक बसी सामुहिक योजना बनाउन नचाहने ।
– कार्यक्षेत्र र जनतामाझ नजाने ।
– सिंहदरबार, बालुवाटारर प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने ।
– कमिकमजोरीबारे समितिमा आलोचना, आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने ।
– उत्पादनका काममा नलाग्ने, परिश्रम नगर्ने ।
– आर्थिकरूपले अपारदर्शी जीवनशैली अपनाउने ।
– श्रमजीवी बर्गीय पक्षधरता छोड्दै जाने र विजातीय बर्ग खोज्दै हिड्ने ।
– पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने ।
– विधि र विधानको पालना नगर्ने ।
– पार्टी अनुशासनको पालना नगर्ने ।
– मालेमावाद सम्बन्धी वैचारिक–राजनीतिक विषयहरूको अध्ययन छलफलमा रूची नलिने ।