ओलीको सरकारलाई चुनौती : हिम्मत भए यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गरे हुन्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा ओलीले यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्दा फूलाई फरक नपर्ने बताए ।
‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, ओलीले भने, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागा भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’
आफूलाई ललिता निवासको विषयमा आरोपित गरिरहेको भए पनि अहिले आफैं त्यसमा फँसिरहेको ओलीले बताए । ओलीले नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको बताए । उनले ओम्नी प्रकरणबारे पत्रिका पढेर थाहा पाएको बताए । उनले भ्रष्ट र तस्करले उल्टै थर्काएको भन्दै सत्तामा भएकाहरू आफैंले सुन तस्करी गरेको आरोप लगाए ।