खैरहनी नगरपालिकाको सिफारिसमा कक्षा ११ अध्ययनरत २९ जनाले पाए छात्रवृत्ति
चितवन , १७ भदौं । खैरहनी नगरपालिकाले निजी तथा सामुदायिक विद्यालय र कलेजले अनिवार्य दिनुपर्ने छात्रवृत्तिलाई कडाई साथ लागु गरेको छ । विद्यालय, कलेजमा अध्ययनरत विद्यार्थीमध्य १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने नियममध्य ५ प्रतिशत विद्यार्थी नगरपालिकाले सिफारिस गर्ने र बाँकी ५ प्रतिशत नगरपालिकाको प्रत्येक्ष निगरानीमा विद्यालय तथा कलेजले छनौट गर्ने खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
नगरपालिकाले सिफारिस गर्ने ५ प्रतिशतमध्य आज कक्षा ११ मा अध्ययनरत २९ जना विद्यार्थीलाई छात्रवृत्तिको सिफारिस पत्र वितरण गरिएको छ । खैरहनी नगरपालिकाले छात्रवृत्तिको लागि अनलाइनबाट आवेदन माग गर्दा आवेदन दिएकाहरुलाई आज छात्रवृत्तिको पत्र दिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए ।
१० प्रतिशत विद्यार्थी नै विद्यालय वा कलेजलाई छनौट गर्न दिदाँ गरिब, विपिन्न तथा जेहेन्दार जस्ता लक्षित वर्ग समेटिनुपर्नेमा लक्षित वर्ग नपर्ने र उनीहरुको ठाँउमा विद्यालय तथा कलेज संचालकका आफन्त , शिक्षकका छोरा छोरी , नेताका छोराछोरी बढि पर्ने गुनासो आएकोले त्यसको पारदर्शिताको लागि ५ प्रतिशत विद्यार्थी नगरपालिकाले छनौट गरेर सिफारिस गर्ने व्यवस्था लागु गरिएको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले बताए । छात्रवृत्तिको लागि अनलाइनबाट आवेदन दिने व्यवस्था गरेर सार्वजनिक सुचना गर्दा समेत विद्यार्थीहरुले खासै चासो नदेखाएको नगर प्रमुख खनियाँले गुनासो गरे । यस बर्ष कक्षा ११ मा ४० जनासम्मलाई नगरपालिकाबाट सिफारिस गर्न सकिने हुदाँ समेत जम्मा २९ जनाको मात्रै आवेदन परेको उनले बताए ।“४० जनाभन्दा धेरै आवेदन परेको अवस्थामा नगरपालिकाले विभिन्न मापदण्ड अनुसार प्राथमिकरण गरेर छनौट गथ्र्यो तर अहिले त उक्त संख्या समेत पुगेन ” मेयर खनियाँले भने । छात्रवृत्ति पाइन्छ भन्दा समेत प्रयाप्त संख्यामा आवेदन नपर्दा आफू आश्चर्यचकित भएको उनले बताए । प्रयाप्त सूचना नपुगेको हुनसक्ने भन्दै आगामी दिनमा थप तयारीको साथ अगाडी बढ्ने मेयर खनियाँले बताए ।
उनले शिक्षाको क्षेत्रलाई नगरपालिकाले विशेष जोड दिएर विभिन्न कार्यक्रम ल्याउदा समेत सहभागिता उल्लेख्य हुननसकेको भन्दै विद्यार्थी तथा अभिभावकलाई सक्रिय हुन आग्रह गरे । आज छात्रवृत्ति पाउनेमा भुवानीशंकार बहुमुखी कलेजमा अध्ययनरत १२ जना , ग्लो साइन एकेडेमीमा अध्ययनरत ८ जना , डेजी इङ्लिस बोर्डिङमा अध्ययनरत ७ जना र इन्टरनेशनल कलेजमा अध्ययन गर्ने २ जना रहेका छन् ।