पूर्वसभामुख नेम्वाङको शवयात्राको रुट तय
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट तय भएको जानकारी दिएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले विज्ञप्ति जारी गर्दै रुट तय भएको बताएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ । उहाँको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।’ विज्ञप्तिमा उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि यही भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने उल्लेख छ ।