कांग्रेसको १५ औँ महाधिवेशनमा ‘कोइराला परिवार’ एकजुट हुने
काठमाडौं । नेपाली कांग्रेसका कोइराला परिवारका सदस्यहरूले पार्टीको १५ औँ महाधिवेशनमा आफूहरू एकजुट भएर महाधिवेशनमा होमिने बताएका छन् । कांग्रेसले आयोजना गरेको बिपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बिपी’ शीर्षकमा बुधबार पार्टी कार्यालय सानेपामा भएको छलफलमा कांग्रेसको केन्द्रीय समितिमा रहेका कोइराला परिवारका सदस्यहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला वक्ताका रुपमा थिए ।
कोइराला परिवारका तीन जना नेताले एकै मञ्चबाट आफूहरू १५ औँ महाधिवेशनमा एक भएर अगाडि बढ्ने बताएका हुन् । छलफलमा सबैभन्दा पहिला शशांकले १४ औं महाधिवेशनमा आफू मिलाउन लाग पनि कोइराला परिवार एकजुट हुन नसकेको बताउँदै १५ औँ महाधिवेशनमा एक भएर अगाडि बढ्ने बताएका थिए । ‘म त्यसबेला मिलाउन लागेको थिएँ। म सबैलाई मिलाउन सक्ने व्यक्ति पनि हुँ, अरूलाई मिलाउने तर आफू परिवर्तन नहुने स्वभाव छ,’ उनले भने, ‘१४ औं महाधिवेशनमा म शेखर दातिर पनि लागिनँ, शेरबहादुरजीतिर पनि लागिनँ।’
शेरबहादुर र शेखरलाई मिलाउन आफूले उत्प्रेरकको भूमिका खेले पनि असफल भएको उनको भनाइ थियो । ‘उहाँहरूलाई मिलाउन लागेको थिएँ। मचाहिँ एक्लै केन्द्रीय सदस्य उठेँ,’ शशांकले भने । १५ औँ महाधिवेशनमा आफू सभापतिको आफू उपयुक्त पात्र भएको बताउँदै शशांकले महाधिवेशनअघि देशैभर घुमेपछि मात्रै यो विषयमा निचोडमा पुग्ने बताए । ‘१५ महाधिवेशनअघि म देशैभर जान्छु। साथीहरूका भावना के छन्, मलाई सभापतिमा देख्न चाहन्छन् कि चाँहदैनन् त्यो बुझ्छु,’ उनले भने, ‘राजनीतिमा आफूले चाहेर मात्रै हुन्न। साथीहरूले के भन्छन्। युगअनुसारको नेता आवश्यक पर्छ।’
१५ औँ महाधिवेशनमा आफू एक भएर अघि बढ्न तयार रहेको तर त्यो विषय शेखर दा र सुजाताले भन्नु पर्ने उनको भनाई थियो । शशांकपछि बोलेकी सुजाताले आउने महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन्। ‘अबको महाधिवेशनमा हामी एक हुन्छौं, हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन्, ‘कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु ।’ शेखरले आफू सधैं एकताकै पक्षमा रहेको बताउँदै भने, ‘म सधैं एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरू (सुजाता र शशांक) ले हो, नत्र समस्या नै आउँदैनथ्यो ।’
शेखरले १५ औं महाधिवेशनमा सभापति को लड्ने कुनै परिवारको सल्लाहबाट भन्दा पनि कार्यकर्ताहरूले नै निर्णय लिनुपर्ने बताए। ‘उहाँहरू (सुजाता र शशांक) ले नेतृत्वका लागि हामी प्रयास गर्दैछौं त भन्नुभयो तर १४ औं महाधिवेशनमा त प्रयास गर्नुभएन,’ शेखरले भने, ‘१५ औं मा एक ठाउँमा उभिने कुरा ठिक छ।’ २०७८ सालमा भएको १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक फरक फरक कित्तामा देखिएका थिए ।
शेखर सभापति पदमा उठेर शेरबहादुर देउवासँग पराजित भएका थिए । सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापतिको उम्मेदवार बनेर पराजित भएकी थिइन् । महामन्त्री भइसकेका शशांक केन्द्रीय सदस्यको उम्मेदवार बनेर लोकप्रिय मतसहित निर्वाचित भएका थिए । शशांक सभापति उठेका शेखर र उपसभापति उठेकी सुजाताको पक्षमा खुलेका थिएनन् ।