चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्रीको के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन एकअर्कालाई बुझ्ने, भरपर्दो र एकअर्कालाई साथ दिने मित्र र साझेदार भएको बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनको हाङ्जाओमा भएको द्विपक्षीय वार्तामा प्रचण्डले सीले अघि सारेका बीआरआईलगायत पहलहरुलाई समर्थन गर्ने बताउँदै त्यस्तो बताएका हुन् । सीसँग प्रधानमन्त्री प्रचण्डको आज भेटवार्ता भएको हो । वार्ता द्विपक्षीय भएको हो । जवाफमा चिनियाँ राष्ट्रपति सी चिनफिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठुलो र सानो देशबीच समान सहअस्तित्व तथा साझा विजयीको नमुना बन्ने बताएका थिए ।
चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार, राष्ट्रपति सीले प्रमुख हित र चासोसँग जोडिएका मुद्दाहरुलाई दुवै देशले बुझनु पर्ने बताएका थिए । १९औँ एसियन गेम्सको उद्घाटनमा सहभागी हुन राष्टसंघको महासभामा भाग लिएर प्रधानमन्त्री सिधै त्यहीबाट चीन पुगेका थिए । चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको पनि उनले बताएका थिए। उनले नेपालको विकास रणनीति तयार गर्न चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि बताए। ‘चीन र नेपालले सधैँ एकअर्काका प्रमुख हित र चासोसँग जोडिएका मुद्दाहरुलाई बुझ्नुपर्छ र समर्थन गर्नुपर्छ,’ सीले भने।
राष्ट्रपति सीले ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्कले आकार थालेको भन्दै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘दुई पक्षले पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन ध्यान केन्द्रित गर्नुपर्छ,’ सीले भने, ‘चीन चिनियाँ उद्यमहरुलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरु चीनमा निर्यात गर्न प्रेरित गर्छ।’ उनले अन्तर्राष्ट्रिय र क्षेत्री मामिलामा चीन र नेपालको धेरै साझा स्वार्थ रहेको बताउँदै चीन नेपालसँग बहुपक्षीय सहकार्य गर्न तथा साझा स्वार्थहरुको सुरक्षा गर्न इच्छुक रहेको पनि बताए।
प्रचण्डले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताए। उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे। त्यस्तै प्रचण्डले नेपालमा चीनको सार्वभौमसत्ता र सुरक्षामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्रीले चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० परियोजनालाई सुदृढताका साथ र समर्थन रहेको जानकारी गराए ।
प्रधानमन्त्रीको हैसियतमा आफ्नो तेस्रो चीन भ्रमणले नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विषयमा नयाँ शक्ति थपिने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरे । भेटपछि चिनियाँ समय अनुसार ८ बजे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ । प्रतियोगिताको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नेछन् । सो खेलको प्रत्यक्ष प्रसारण चिनियाँ टेलिभिजनहरूले गरिरहेका छन् ।