काण्डै- काण्ड चलाएको सरकारले देश विकास गर्न सक्दैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा काण्डै काण्ड चलाएको सरकारले देशको विकास गर्न नसक्ने बताएका छन् । उनले अहिलेको सरकारले विभिन्न काण्डहरु चलाएको भन्दै काण्ड चलाएर सरकार टिकाउने ध्यानमा मात्र सरकार लागेको र यो सरकारले देशको विकास गर्न नसक्ने बताएका हुन् । शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाएको भन्दै उनले त्यसले देश विकास हुन नसक्ने जिकिर गरेका हुन् ।
देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे । देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए । ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे । मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै ओलीले परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्ने बताए ।