नेपालको राष्ट्रियताको चुरो नै मधेसमा : राष्ट्रपति
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको मधेसमा नेपालको राष्ट्रियताको चुरो रहेको बताएका छन् । आज जनकपुरमा आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको बताए । उनले नेपालको राष्ट्रियताको चुरो पनि मधेसमै रहेको पनि बताए । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता वीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु,’ उनले भने, ‘यही भूमिमा बस्ने नागरिकहरूले नेपालको एकएक इन्च जमिन जोगाएका छन् । त्यसकारण म यहाँका नागरिक र परिवर्तनका लागि प्राणको आहुति दिने सबै अग्रजको पावन स्मृतिमा उहाँहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु ।’
अभाव र समस्यामा राष्ट्रियताको संरक्षण हुननसक्ने बताउँदै उनले मधेसका सम्भावनाहरूको पहिचान र समस्याहरूको सम्बोधन गर्न सकारात्मक योगदानका लागि सबैलाई आग्रह गरे । ‘अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन । त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न हुन्न । नेपालको समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति, सम्मान र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने मेरो सधैँको अटल विश्वास हो । त्यसकारण म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा लाग्न सबैलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले भने ।
सम्बोधनका क्रममा समग्र नेपाललाई खाद्यान्न आपूर्ति गर्ने अन्नभण्डार मधेसको उर्वर भूमि सिँचाइको अभावले बाँझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको बताउँदै उनले सरकारमा रहँदा होस् या संसद्मा, समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाइभर्सनका लागि आवाज उठाउँदै आएको स्मरणसमेत गरे । एक अर्को प्रसङ्गमा राष्ट्रपति पौडेलले आफ्नो नेतृत्वमा तत्कालीन मधेसवादी दलहरूसँग भएको २२ बुँदे सहमतिले संविधान निर्माणको आधारशिला खडा गरेको बताए । संविधानको सबल कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलका नेताहरूलाई अपिल गरे ।
‘हामी सबै मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र आज हामी सबैले एकताबद्ध भई सामाजिक न्याय स्थापनासहितको समृद्धि हासिल गर्नु अपरिहार्य छ,’ उनले भने, ‘संघीयता कार्यान्वयन, जनतालाई अधिकार दिन र प्रदेश तथा स्थानीय तहका सरोकारहरू सम्बोधन गर्न मुख्य तीन नेताहरू देउवा (शेरबहादुर देउवा), ओली (केपी शर्मा ओली) र प्रचण्ड (पुष्पकमल दाहाल) ले गम्भीर बन्नुपर्छ । उहाँहरूले चाहेमा देश बदलिन्छ, संविधान र सङ्घीयता कार्यान्वयन हुन्छ ।’