एमाले बागमती अधिवेशन : वर्तमान अध्यक्ष केशव पाण्डेले फिर्ता लिए उम्मेदवारी
काठमाडौं । नेकपा एमालेका बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डेले आगामी कार्याकाल फेरि अध्यक्ष हुनका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले हिजो अबेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । यधपी उनले बुधबार वारेशमार्फत उम्मेदवारी दर्ता गराएका थिए । उनलाई उम्मेदवारी दिनबाट रोक्न प्रदेश इन्चार्ज गुरु बराल, आनन्द पोखरेल, खेम लोहनी लगायतका नेताहरुले निक्कै जोडबल गरेका थिए । उनी उम्मेदवारी दर्ता गर्न जुलुससहित जाँदै गर्दा उनलाइ गुरु बरालले टेलिफोन गरि भेटन बोलाएको र त्यसपछि उनले वारेशमार्फत उम्मेदवारी दर्ता गराउनु परेको बताएका थिए ।
एमाले नेतृत्वले उनलाई पार्टी केन्द्रीय समितिमा लैजाने बचन दिएर उम्मेदवारी फिर्ता लिन लगाएको बुझिएको छ ।एमाले मुल नेतृत्वले उनीबाट पार्टी नचल्ने र गत चुनावमा बागमतीमा एमाले सवैभन्दा कमजोर भएको भन्दै उनलाई अध्यक्षबाट रोक्न चाहेको थियो । अध्यक्ष पाण्डेले आफू अध्यक्षको दौडबाट बाहिरिइसकेको बताएका छन्। ‘म अहिले अध्यक्षको दौडबाट बाहिरिएको छु निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गदैछ । त्यसमा अब मेरो नाम भेटिने छैन,’ पाण्डेले भने । उनले आफु चुनावी प्रतिस्पर्धाबाट बाहिरिएपछि कसलाई समर्थन गर्ने भन्ने बारेमा भने केही बताएका छैनन ।
यधपी उनले आफुले उम्मेदवारी झिकेको सहितको अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएपछि खुल्ने बताएका छन् । पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि अब एमाले बागमतीको अध्यषका लागि चार जना उम्मेदवार कायम रहने भएका छन् । अब अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायम हुने भएको छ । यी चार नेताहरुमा पनि अझै केहीलाई उम्मेदवारी फिर्ता गराउने गरी अहिले एमाले नेतृत्वले छलफल गरिरहेको छ। अन्तिममा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।