प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् । अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको छेन्दुबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । उनी बिहान १० बजे नेपाल आई पुग्ने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा पत्रकारसँग जानकारी गराउने छन् ।
शुक्रबार छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरेपछि प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्डको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा उनको सहभागिता रहेको थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्वत दर्शन गरेका प्रधानमन्त्री दाहाल हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।