कांग्रेसविनाको सरकारको त कल्पनै गर्न सकिँदैन : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले नेपाली कांग्रेसविनाको सरकारको त कल्पनै गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बुधबार अध्यक्ष नेपालले अहिलेको शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य रहेको बताए । ‘कांग्रेसविनाको सरकारको त कल्पनै गर्न सकिँदैन,’ नेपालले भने, ‘ अहिलेको संरचना जुन छ, शक्ति सन्तुलन छ, यो शक्ति सन्तुलनभित्र नेपाली कांग्रेस अपरिहार्य हुन्छ ।’
नेपालले नाम नलिइ ओलीलाई को प्रधानमन्त्री हुन्छ भनेर मुख मिठ्याएर नबस्न व्यङ्ग्य समेत गरे । ‘को प्रधानमन्त्री बन्छ भनेर मुख मिठ्याएर बस्ने होइन, कहिले आउँछ भनेर ढुकेर बस्ने होइन । अहिले भएको सरकारलाई अघि बढाउने हो,’ नेपालले भने, ‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा यो सरकारलाई अघि बढाउने पक्षमा हुनुहुन्छ । हामी पनि यो सरकार अघि बढाउने पक्षमा छौं । कमजोर र असहयोग गर्ने पक्षमा छैनौं, हाम्रो पार्टीले त झन छोड्ने कुरै आउँदैन ।’
गठबन्धनमा सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको र उनले राम्रा काम गर्ने प्रयास गरेको नेपालले बताए । ‘अहिले हाम्रो सहमतिबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही राम्रा काम पनि गर्न खोज्नुभएको छ । तर, त्यो पर्याप्त भएन । त्यसको निम्ति हामीले उहाँलाई सहयोग पनि गर्नुपर्छ,’ नेपालले भने, ‘उहाँलाई दबाब पनि दिनुपर्छ । उहाँलाई उत्प्रेरित पनि गर्नुपर्छ । यसको निम्ति गठबन्धनको तर्फबाट हाम्रो पार्टी सहयोगी भुमिका निभाउन वा आवश्यक प्रभावकारी भुमिका खेल्न तयार छ ।’
एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी नेपालको छ । उनले नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे । कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने बताए ।