खैरहनीका ५४ जना विद्यार्थीलाई माछापुच्छ्रे बैंकले दियो शैक्षिक सामाग्री
चितवन , २२ असोज । माछापुच्छ्रे बैंक लिमिटेडले खैरहनीका ५४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले खैरहनी नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ५४ जना विद्यार्थीलाई आज शैक्षिक सामाग्री वितरण गरेको हो ।
खैरहनी नगरपालिकाको समन्वयमा माछापुच्छ्रे बैंकले विद्यार्थीहरुलाई झोला , कापी , कलम वितरण गरेको माछापुच्छ्रे बैंकका बागमती प्रदेश प्रमुख मनोज भट्टराईले जानकारी दिए । बैंकले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुगोस् भनेर सहयोग गरेको भन्दै आगामी दिनमा समेत सहयोग गर्ने बताए । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ, उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटा , नगर शिक्षा अधिकारी राजु बानियाँ , बैंकका बागमती प्रदेश प्रमुख मनोज भट्टराई , बैंकका बागमती प्रदेश उप प्रमुख सौरभ श्रेष्ठ ,बैंकका पर्सा शाखा प्रमुख रामकृष्ण तिवारी लगायतले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले सबै वित्तिय संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए । निजी संघ संस्था , कम्पनीहरुले नाफा मात्रै कमाएर नहुने त्यस अनुरुपको केहि रकम सामाजिक उत्तरदायित्वमा खर्च गुर्नपर्ने उनले बताए । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिदै नगर प्रमुख खनियाँले अन्य वित्तिय संस्थाले समेत शैक्षिक सामाग्री सहयोगसँगै छात्रावृत्तिको बिषयमा समेत सोच बनाउनुपर्ने बताए ।