राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित
काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टिन हमास समूहबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो । ‘राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण स्थगित भएको छ,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘भ्रमण केही समयपछि हुने छ । मिति आपसी सल्लाहमा तय हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो । तर, शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका हुन् । यता नेपालमा भने शनिबार गुटेरसले संसद्का दुबै सदनलाई संवोधन गराउने तयारी गरिएको थियो ।