विश्वकप छनोट : लाओस र नेपालबीचको खेल बराबरी
काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ । अन्जन विष्टले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेपछि खेल बराबरीमा सकिएको हो । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसका कप्तान बोउनफचान बोउन्कोङले ३३औँ मिनेटमा गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । मैदानको मध्यभागमा आयुश घलानले नेपाली मिडफिल्डरलाई उपलब्ध गराएको बल खोस्दै बोउन्कोङले रक्षक अनन्त तामाङ र मनिष डाङ्गीलाई बिट गर्दै गोल गरे ।
दोस्रो हाफको सुरुआत मै अन्जनको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गर्दै नेपाललाई ११ हजार २३५ दर्शकमाझ खेलमा फर्काएका हुन् । गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
खेलको इन्जुरी समयमा मुख्य रेफ्री निभोन रोबेश गामिनीसँग मैदानभित्रै पुगेर विवादमा उत्रिएपछि लाओसका मुख्य प्रशिक्षकले सोझै रातो कार्डको दर्शन गर्दै ‘टेक्निकल लाइन छोडेका थिए । अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।