एसीसी यू–१९ महिला प्रिमियर कप: इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो स्थानमा
चितवन, ०२ साउन । नेपालले एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
मलेसियाको बायोमास ओभलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि सान प्रविनले अविजित २५ रन बनाए भने सावित्री धामीले २४ रनको योगदान दिइन्। करुणा विष्ट १६ रनमा अविजित रहिन्।
यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६८ रन बनाएको थियो। इन्डोनेसियाका डर्नी रम्बु बन्गीले सर्वाधिक ३४ रन बनाइन् भने नी पटु डेवीले ११ रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल सात रन खर्चेर चार विकेट लिइन्। अनु कडायतले दुई विकेट लिँदा रचनाकुमारी चौधरी, तिर्सना विश्वकर्मा र कप्तान सोनी पाख्रिनले समान एक–एक विकेट लिए।
यसअघि सेमिफाइनलमा नेपाल यूएईसँग तथा इन्डोनेसिया थाइल्यान्डसँग पराजित भएपछि दुवै टोली तेस्रो स्थानका लागि आमनेसामने भएका थिए।



















