गठबन्धन बलियो बनाउने दाहाल, देउवा र डा. कोइरालाको सहमति एक दिनमै तोडियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच ‘गठबन्धन बलियो बनाउने’ सहमति दुई दिनमै तोडिएको छ ।
दाहाल, देउवा र कोइरालाले शनिबार बिहान बालुवाटारमा ‘गठबन्धनलाई कमजोर हुन नदिने’ सहमति आइतबार दिउँसो तोडिएको हो ।
आइतबार दिउँसो कोशीमा मन्त्रिपरिषद गठन गर्दा मुख्यमन्त्री केदार कार्कीले गठबन्धनमा नरहेको नेकपा (एमाले) का नेतालाई मन्त्री बनाएपछि सहमति मसी सुक्न नपाउँदै तोडिएको हो ।
मुख्यमन्त्री कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई बिनाविभागीय मन्त्री बनाएर शपथ खुवाएका छन् ।
शनिबार बिहान बालुवाटारमा दाहाल, देउवा र कोइरालाले हस्ताक्षर गरेको सहमतिमा ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं। यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ उल्लेख छ।
कोशीमा मुख्यमन्त्री बनेका कार्की कांग्रेस नेता डा. शेखर कोइराला निकट हुन् । कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९ सांसदमध्ये ८ र एमालेका ४० मध्ये ३९ जनाले हस्ताक्षर गरेका थिए।
तर, गठबन्धनबाट कोशीमा मुख्यमन्त्रीका लागि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई उम्मेदवार बनाइएको थियो । सत्ता गठबन्धनमा आबअ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले आङ्बोलाई अघि सारेका थिए।
आङ्बोले प्रदेश प्रमुखकहाँ पुगेर मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनको विरुद्धमा कार्कीले पनि दाबी पेस गरेका थिए । कार्की नेतृत्वमा कांग्रेसका ८ जना सांसदले एमालेका ३९ जना सांसद प्रदेश प्रमुखकोमा पुगेर हस्ताक्षर गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङलाई मुख्यमन्त्री नियुक्त गरे ।
मुख्यमन्त्री जसरी भए पनि गठबन्धनलाई बलियो बनाउने सहमति केन्द्रमा भयो । मन्त्रिपरिषद् विस्तार गर्दा केन्द्रमा सोध्न कार्कीलाई कांग्रेस सभापति देउवाले निर्देशन समेत दिएका थिए । कार्कीले प्रारम्भिक चरणमा मन्त्रिपरिषद् बनाउँदा निर्देशनलाई पालना गरेनन् । कार्कीले शनिबार काठमाडौँ आएर नेता कोइराला कांग्रेस सभापति देउवालाई शनिबार भेटेका थिए ।
भेटका क्रममा देउवाले त्यही निर्देशन दिएका थिए । कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान निवासमै पुगेर भेटे । र, आफूलाई एमालेले लगाएको गुन मन्त्रिपरिषद् विस्तारमा बिर्सेनन् ।
आफूलाई मुख्यमन्त्री बनाउन साथ दिएका एमालेका एक सांसदलाई मन्त्री बनाए । संघीय सरकारसहित सातै प्रदेशमा प्रमुख प्रतिपक्षी रहेको एमाले आजबाट कोशी प्रदेशमा सत्तारुढ दल बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक सार्वजनिक कार्यक्रममा कोशीमा सर्वदलीय सरकार बन्ने बताएका थिए । कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि अहिलेको सरकारलाई सहमतिको सरकार बनाउने पहल हुने बताउँछन् ।
तर नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्की सहमतिय सरकारको पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिएका छन्। मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादी सहितका दलहरू सहभागी हुने भए भने एमाले सरकारमा नरहने बताए ।