पार्टीको जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरे : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तीन प्रदेशले एकै स्थानमा जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरेको बताएका छन् । सरकारमा बसेर सडक प्रदर्शन गर्न लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री दाहालले सञ्चार माध्यमले पार्टी निर्णयलाई गलत रुपमा प्रचार गरिएको भन्दै निर्णयको बचाउ गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकार्मीहरुसँग दाहालले पार्टीले वडास्तरमा गरेको जनपरिचालन कार्यक्रमलाई पालिका र प्रदेशस्तरमा गर्न खोजेको बताए । ‘मिडियाले गलत ढंगले प्रचार गर्यो । अहिले देशभर वडास्तरमा जनपरिचालनका कार्यक्रमहरु चलिरहेको छ,’ दाहालले भने, ‘जनपरिचालनलाई गाउँपालिका र काठमाडौंमा तीन वटा प्रदेशले एकै स्थानमा जनपरिचालन गर्न खोजेको हो । कसैका विरुद्ध कुनै प्रदर्शन गर्न खोजेको होइन ।’
माओवादी केन्द्रको मंगलबार बसेको बैठकले राजावादीहरु सक्रिय भएको भन्दै त्यसविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो । सरकारको नेतृत्व गर्ने र सडक प्रदर्शन पनि गर्ने भन्दै विभिन्न पक्षबाट माओवादी केन्द्रको आलोचना भएपछि अध्यक्ष दाहालले त्यसको बचाउ गरेका हुन् ।