कोशीमा एमाले-विद्रोही कांग्रेस गठबन्धन १८ दिनमै भंग
काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट विद्रोह गरी एमालेसँगको मिलेमतोमा मुख्यमन्त्री बनेका केदार कार्कीले अन्ततः आफूलाई साथ दिएको एमालेलाई बीच बाटोमै छोडिदिने निष्कर्षमा पुगेका छन् । उनले आफू मुख्यमन्त्रीमा नियुक्त भएको १८ दिनमै एमालेको सहमति बिना नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी बनाएका छन् ।
कांग्रेसबाहेक अरु दल सरकारमा सहभागी भए सरकारबाट बाहिरिने बताएको एमाले मुख्यमन्त्री कार्कीको यो कदमसँग सरकारबाट बाहिरिने निश्चित भएको छ । एमालेका कोशी प्रदेश सभा प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमाले अब कोशी सरकारबाट बाहिरिने जानकारी दिए ।एमालेको असहमतिमा मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा आबद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले–विद्रोही कांग्रेसबीचको गठबन्धन टुटेको हो ।
कार्की कांग्रेसबाट विद्रोह गरेका ८ सांसदसहित एमालेको सहयोगमा गत असोज २८ गते मुख्यमन्त्री बनेका थिए । कार्कीले विश्वासको मत लिँदा भने सत्ता गठबन्धनमा आबद्ध दलहरू माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि मत दिएका थिए । सबैले आफूलाई विश्वासको मत दिएपछि सरकारमा गठबन्धनलाई सामेल गर्ने कि एमाले मात्र राख्ने भन्ने निर्णय गर्न नसक्दा कार्कीले सरकार विस्तार गर्न सकेका थिएनन् ।
कार्कीले आज १८ दिमै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ । कार्कीले आज माओवादीबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएका हुन् । कार्कीले मन्त्रिपरिषद्मा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शमशेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका थिए । चारै मन्त्रीहरूको कार्यविभाजन भने अझै भएको छैन ।