भूकम्प प्रभावितको उद्धारका लागि एमालेले एक करोड सहयोग गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले बिहानै ५० लाख सहयोग गर्ने निर्णय गरेपछि एमालेले कांग्रेसको भन्दा दोब्बर एक करोड रुपैयाा सहयोग गर्ने निर्णय लिएको हो ।
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएपछि पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मेरोन्यूजलाई जानकारी दिए । पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले बताए ।
जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उनले सबैलाई सक्दो सहयोग गर्न आग्रह गरे । भूकम्पबाट अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ । १९७ जना घाइते भएका छन् ।