२६ देशमा यसअघि नै प्रतिबन्ध भइसकेको छ टिकटक
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक यसअघि २६ देशमा बन्द भइसकेको छ । चिनियाँ टेक्नोलोजी कम्पनी बाइट डान्सले चलाउँदै आएको टिकटक एपमा प्रतिबन्ध लगाउने देशको संख्या आज नेपालले निर्णय गरेसँगै २७ पुगेको छ। सामाजिक सञ्जालमा निर्णयको चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालय निर्णयको बचाउ गर्न यसअघि २६ देशले बन्द गराइसकेको तथ्यांक बाहिर ल्याएको हो ।
टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा निर्णयमाथि सत्तारुढ दलबाटै विरोध सुरु भएको छ । राजनीतिक दलका शीर्ष नेताहरूले नै सरकारको यो कदम ठिक नभएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । टिकटकमा आउने भिडिओ कन्टेन्टहरू छाडा हुन थालेपछि त्यसको नियमन गर्नका लागि बन्द गर्ने निर्णय गरेको सरकारी स्पष्टिकरण छ। तर, यसले जनताको स्वतन्त्रता हनन भएकोदेखि सरकारले अधिनायकवादी शैली अपनाएको भन्दै विविध आलोचना सुरु भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उपलब्ध गराएको तथ्यांकमा अमेरिका, बेलायत, न्यूजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम लगायतका २७ देशमा टिकटक प्रतिबन्ध भएको उल्लेख छ । विभिन्न सुरक्षाका कारण र गोपनियताको जोखिम देखाउँदै यी देशहरूमा टिकटक बन्द भएका उनले पठाएको तथ्यांकमा उल्लेख छ ।