काठमाडौंमा आज एमाले जनसंगठनको विशेष बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको विशेष बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टीका २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी हुन आह्वान गरिएको छ ।राष्ट्रिय युवा सङ्घका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य किरण पौडेलका अनुसार युवा र विद्यार्थीहरूले विभिन्न पाँच वटा माग राखेर मङ्सिर ७ गते माइती घर मण्डलामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
उक्त कार्यक्रमको तयारीको बिषयमा छलफल गर्न आजको बैठक डाकिएको सदस्य पौडेलले जानकारी दिए । साथै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।आजको बैठकमा पार्टीले मङ्सिर १४ गते देखि गर्न लागेको मध्य पहाडी राजमार्गको यात्राको तयारीका सन्दर्भमा विभिन्न जनसङ्गठनहरूको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।
मङ्सिर ७ गते काठमाडौँमा युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचार र अनियमितताका विरुद्ध,सामाजिक सद्भाव भड्काउने र धार्मिक सहिष्णुता भत्काउने विरुद्ध,राज्यको अकर्मण्यता विरुद्ध,राज्य आतंक् विरुद्ध र सामाजिक अराजकता विरुद्ध आन्दोलन गर्न लागेको छ ।