एमालेको समृद्धिका लागि संकल्प यात्रा सुरु
काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची–महाकाली अभियान सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान अभियानको उद्घाटन गर्दै यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताएका छन् ।राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ ।
आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।