रोटरी क्लवद्वारा राष्ट्रिय मा.वि महादेवटारलाई कम्प्युटर ल्याव हस्तान्तरण
चितवन , २४ मंसिर । रोटरी क्लवले पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारमा रहेको राष्ट्रिय मा.वि महादेवटारलाई कम्प्युटर ल्याव हस्तान्तरण गरेको छ । विभिन्न रोटरी क्लवहरुको सहयोगमा विद्यालयमा निर्माण भएको कम्प्युटर ल्याव आज हस्तान्तरण गरिएको हो ।
हङकङको रोटरी क्लव अफ नियोटेरिक , रोटरी क्लव अफ पोखरा फिस्टेल , रोटरी क्लव अफ पूर्वी चितवन र एडुटेक नेपालको संयुक्त प्रयासमा विद्यालयमा कम्प्युटर ल्याव स्थापना भएको थियो । ल्यावमा २० वटा कम्युटरसहितको अन्य आवश्यक सामाग्रीहरु रहेको छ । ल्यावमा करिब १० लाख बराबरको सामान रोटरीले सहयोग गरेको रोटरी क्लव अफ पूर्वीचितवनका अध्यक्ष विनोद नेपालले जानकारी दिए ।कम्प्युटर ल्याव हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गर्भनर नोमिनी विनोद कोइरालाले रोटरीले गरेको सहयोगको भरपुर उपयोग भए मात्रै सहयोगको औचित्य हुने बताए ।
कम्प्युटर ल्यावमा विद्यार्थीले केहि नयाँ सिक्न र जान्न पाएर शिक्षामा सुधार आए आफूहरु खुखी हुने उनले बताए । रोटरी क्लव अफ पूर्वीचितवनका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिद्धिलाल स्याङताङ ,क्लवका संस्थापक अध्यक्ष राममणी न्यौपाने , निवर्तमान अध्यक्ष प्रभात कुमार सेढाई , विद्यालयका प्रधानाध्यापक हरि उप्रेती लगायतले मन्तव्य राखेका थिए ।