प्रधानमन्त्रीले भने- रूसी सेनामा २०० भन्दा बढी नेपाली रहेको औपचारिक जानकारी आएको छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरू रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको जिकिर गरे ।उनले रुसी सेना बनेका नेपाली कोही युक्रेनको कब्जामा रहेको र केही नेपालीहरु युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए।
हमास आक्रमणमा बेपत्ता भएका विपीन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको उनले जानकारी दिएका छन् । प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको बताए । उनले भने, ‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ । तर, मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ । अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको छ ।’