माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् । उनका अनुसार बैठकले विधान मस्यौदा समिति गठन गरेको छ। समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् । विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ ।
विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ । बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।