बालकुमारी घटना : ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशककाे पद खाेसियाे
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा भएको गम्भीर लापरबाहीका कारण दुई जना युवकको ज्यान गएकाे भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएकाे छ । शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा सो निर्णय भएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हाे ।
त्यस्तै प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हाे । शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै युवाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरुको बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो।