राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख विश्वकर्माले भने ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको छ । गठबन्धनमा यसबारे छलफल हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने हाम्रो बैठकको निर्णय हो ।’
यस्तै बैठकले अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिहरु र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको विश्वकर्माले जानकारी दिए ।



















