तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ : नेता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैँचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले देशमा भ्रष्टाचार मौलाएकोले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिए । उनले संघीयदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाए को दाबी गरे ।
“सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन,” उनको भनाइ थियो, “सुशासनबिना देशको विकास सम्भव छैन । सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।” उनले कांग्रेस सधैँ पहिचानको पक्षमा रहेको बताए । “कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” उनले भने, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलिअलि कहीँ कतै तुस छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।”