खैरहनीको आधारभूत विद्यालय सलौलीले मनायो ४७ औं वार्षिकोत्सव
चितवन , १६ फागुन । पूर्वी चितवनको खैरहनीमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय सलौलीले आज ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आजै विद्यालयमा नवनिर्मित रत्नद्धारको समेत उद्घाटन गरिएको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ र रत्नद्धार निर्माणमा आर्थिक सहयोग गर्ने रत्नदेवी मुडवरी तथा भजन प्रसाद मुडबरीले रत्नद्धारको उद्घाटन गरेका हुन् ।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको अवसरमा विद्यालयले विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । विद्यालयमा अक्षयकोष स्थापनाको लागि आज खडानन्द विश्रवालले २६ हजार सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले शिक्षाको क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकताको साथ अगाडी बढाएको बताए । उनले वस्ती वस्तीमा अहिले गृहकार्य संचालन गरेको , कक्षा ११ र १२ मा निशुल्क रुपमा विज्ञान संकाय अध्ययन गराउन खैरहनी मा.विमा सुरु गरिएको , दरबन्दी नपुगेको विद्यालयमा स्वयम्सेवक शिक्षकहरु खटाइएको , सिक्स टु सिक्स कार्यक्रम संचालन भइरहेको , उत्कृष्ट नतिजा दिने शिक्षकलाई पुरस्कृत गर्ने तयारी गरिएको बताए । उनले खैरहनी नगरपालिकामा जुन दलबाट निर्वाचनमा होमिएपनि अहिले सबै जनप्रतिनिधिहरु एकजुट भएर विकास गर्न अगाडी बढेको बताए । उनले कक्षा थप गर्न विद्यालयले चाहदैमा नदिने भन्दै विद्यार्थीको संख्या ,विद्यालयमा शैक्षिक गुुणस्तर हेरेर आवश्यकताको आधारमा मात्रै कक्षा थपको अनुुमति दिने प्रष्ट पारे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृत अधिकारीले प्रतिवेदन पेश गरेका थिए । उनले विद्यालयले गरेका काम र आगामी योजना प्रस्तुत गरेका थिए । आगामी शैक्षिक सत्रबाट कक्षा ६ थप गर्ने लक्ष्य लिएको भन्दै विद्यालयमा कक्षा कोठा थप गर्न आवश्यक रहेको औल्याए । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि , विद्यार्थी , अभिभावक , खैरहनी ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदी लगायतले मन्तव्य राखेका थिए ।