सिकाउदै पढाउने अभियानमा ग्लोसाइन,क्रियाकलापमा आधारित शैक्षिक मेला
चितवन, १९ फागुन । पूर्वीचितवनको खैरहनीमा रहेको ग्लोसाइन एकेडेमीले क्रियाकलापमा आधारित बृहत शैक्षिक मेला गरेको छ । विद्यालयले आज शिशु कक्षादेखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई सहभागी गराउदै उनीहरुको अध्ययनमा अवलम्बन गर्दै आएको शिक्षण विधिको प्रदर्शन गरेको हो ।
क्रियाकलापमा आधारित बृहत शैक्षिक मेलाको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका छन् । विद्यार्थीहरुलाई अब पढाउने मात्रै होइन सिकाउदै पढाउने पद्धतिको विकास गर्नपर्छ भन्ने योजना अनुरुप आफूहरुले क्रियाकलापमा आधारित शिक्षण विधि प्रयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक टेकराज अधिकारीले जानकारी दिए । कक्षा ५ सम्मका विद्यालयहरुलाई घोकाएर भन्दा सिकाएर पढाउन सहज हुने र विद्यार्थीहरु समेत त्यसतर्फ आकर्षित भएको अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले विद्यालयहरुको भिडमा ग्लोसाइनले फरकशैलीमा अध्यापन गराएकोमा खुसी व्यक्त गरे । मेलामा प्रदर्शनमा राखिएको परम्परागत सामाग्रीहरुले विद्यार्थीहरुलाई पुराना पुस्ताको कथा व्यथाको बारेमा जानकारी पाउने अवसर मिल्ने बताए । अहिले सिप बिनाको शैक्षिक जनशक्ति उत्पादन भएर बेरोजगारी बढेको अवस्थामा सिक्दै पढ्ने शैलीले आगामी दिनमा सिप सहितको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले घोक्ने होइन सिकाउने हो भन्ने अभियानलाई अन्य विद्यालयहरुमा समेत प्रयोग गर्न पहल गर्ने बताए । यो माध्यमबाट विद्यार्थीको रुची थाहा पाउन सकिने भएकोले अभिभावकले समेत आगामी दिनमा विद्यार्थीको चाहना अनुरुपको काम गर्न प्रेरित गर्न सकिनेमा नगर प्रमुुखले बताए । नगरपालिकाले शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै खैरहनीको शैक्षिक गुणस्तर बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष कुशहरि थापाले ग्लोसाइनका शिक्षकहरुको मेहेनतले विद्यार्थीको भविष्य उज्वल रहेको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तर बढाउदै लगेको र आगामी दिनमा विद्यार्थीको अत्याधिक चापले भर्ना लिनै कठिन हुने अवस्था आउने परिदृश्य सिर्जना हुुदै गएको बताए । कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष ई.हरि भण्डारीले आगामी दिनमा थप प्रविधिमैत्री र विद्यार्थीमैत्री शिक्षण पद्धतीलाई आत्मसात गर्दै विद्यालयको गतिविधि अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।