स्थानिय पाठ्यपुस्तक तयार गर्दै खैरहनी नगरपालिका
चितवन , ६ चैत । खैरहनी नगरपालिकाले स्थानिय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखनको प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुको लागि स्थानिय पाठ्यपुस्तक लेखनको प्रक्रिया सुरु गरेको हो । पाठ्यपुस्तक लेखनको लागि आज कार्यशाला गोष्ठी गरिएको छ । पाठ्यपुस्तक लेखनमा सहजीकरण गरेको साभ नेपालका डा. तुलसीराम खनालले पाठ्यपुस्तकमा समेटिने प्रारम्भिक विषयवस्तुहरु आज खैरहनीका जनप्रतिनिधिहरुमाझ प्रस्तुत गरेका थिए । पाठ्यपुस्तकमा समेटिने विषयहरुको बारेमा जानकारी दिदै थप सल्लाह सुझाव समेत माग गरिएको थियो ।
पाठ्यपुस्तकमा खैरहनीको परिचय , खैरहनीको स्थानिय कला , संस्कृति , स्थानिय कृषि , पेशा , व्यवसाय , प्राकृतिक सम्पदा , स्थानिय खेल , पर्यटकिय स्थान लगायतका विविध विषयहरु पाठ्यपुस्तकमा समेटिने साभ नेपालका डा.तुलसीराम खनालले बताए । खैरहनीका विद्यार्थीहरुमा आफ्नो नगरपालिकाको र यस क्षेत्रको विषयमा धेरै भन्दा धेरै ज्ञान हुनुपर्छ भन्ने मान्यता अनुरुप स्थानिय पाठ्यपुस्तक तयार गर्न लागिएकोे खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले जानकारी दिए । २०८१ को शैक्षिक सत्रबाटै स्थानिय पाठ्यपुस्तक लागु गर्नेगरि तयारी सुरु गरिएको नगर प्रमुख खनियाले बताए ।