अपाङ्गता भएका महिलाहरूलाई खैरहनीमा सावुन सरफ बनाउने तालिम सुरु
चितवन, ०१ जेठ । खैरहनी नगरपालिकाले अपाङ्गता भएका महिलाहरूको लागि सीप विकास तालिम सुरु गरेको छ । अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम अन्तर्गत साबुन र सरफ बनाउने तालिम आजबाट सुरु भएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले तालिम उद्घाटन गरेका छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले तालिम मात्रै दिने होइन तालिम लिएर व्यवसाय गर्नेलाई नगरपालिकाले बीउ पुजि समेत दिने बताए ।
नामको लागि मात्रै तालिम लिएर नहुने भन्दै तालिम पश्चात् व्यवसायिक प्रयोग गरेर जिविकोपार्जन गर्नुपर्नेमा उनले जोड दिए । अपाङ्गता भएका महिकाहरुले उत्पादन गरेका वस्तुको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुखले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेतीले अपाङ्गता भएको भनेर आफ्नो आत्मविश्वास कम नगरी सीप सिकेर व्यवसायमा लाग्नुपर्नेमा जोड दिइन् । नगरस्तरिय अपाङ्ग समितिकी उपाध्यक्ष दिलकुमारी लामाले अपाङ्गता भएपनी अरुको भरमा नपरी सीप सिकेर आफै स्वरोजगार वा रोजगारीमा लाग्नुपर्ने बताइन् ।
तालिममा विभिन्न वडाबाट २० जना महिलाहरूको सहभागीता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रमुख कृष्णा कुमारी गुरुङले जानकारी दिइन् । जनता सेवा सिपमुलक तालिम केन्द्र सहजीकरण गरेको तालिम पाँच दिनसम्मा चल्ने छ ।