खैरहनीमा एड्वानले दियो सीप विकास तालिमसहित बीउ पुजी
चितवन , १० जेठ । नेपाल दलित महिला उत्थान संघ ( एड्वान् )ले खैरहनीमा महिलाहरूको लागि कृष्टल सामाग्री र चुरा पोते तालिम दिएको छ । महिलाहरूको लागि सुधारिएको जिविकोपार्जन परियोजनाको आधारभुत सिपविकास कार्यक्रम अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ६ का १५ जना महिलाहरूलाई कृष्टल सामाग्री तथा चुरा पोते तालिम दिइएको हो । तालिममा सहभागीहरुलाई प्रशिक्षक शान्ती चौधरीले विभिन्न किसिमको पोते , बाला , औँठी , टप , भुम्का , मंगलशुत्र बनाउन सिकाएको एड्वानको सामाजिक परिचालन सुनिता दराईले जानकारी दिइन् । एकहप्ता संचालन भएको तालिमको आज समापन गरिएको छ ।
समापनको अवसरमा तालिममा सहभागी भएको समुहलाई एड्वानले बीउ पुजि स्वरुप नगद ५० हजार समेत सहयोग गरेको छ । समापन कार्यक्रमको प्रमुख अतिथि खैरहनी नगरपालिकाकि उपप्रमुख कविता उप्रेतीले तालिममा सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिइन् । उनले खैरहनी नगरपालिकाले समेत विभिन्न किसिमको तालिम दिदै आएको र गरिव तथा विपन्न वर्गकालाई व्यवसाय संचालनको लागि बीउ पुजि दिदै आएको बताइन् । उनले नगरकोतर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरिन ।
सीप विकास कार्यक्रम अन्तर्गत सीप सिकाएर मात्रै नहुने त्यसलाई दिगोपना दिन व्यवसायमा प्रेरित गर्नुपर्ने भन्दै त्यसको लागि ताकिम लिएकालाई बीउ पुजि दिएको
एड्वानको अध्यक्ष बिन्दु थापा परियारले बताइन् । करुणा ट्रष्टको आर्थिक सहयोगमा एड्वानले विभिन्न किसिमको तालिमहरु संचालन गर्दै आएको परियारले बताइन् । एड्वानले चितवनको भरतपुर , रत्ननगर र खैरहनीमा परियोजना संचालन गरिरहेकोमा खैरहनीको उत्कृष्ट नतिजा आएको भन्दै खुशी व्यक्त गरिन । एड्वानले सीप विकास तालिमसंगै महिलाहरूको सशक्तीकरणमा समेत जोड दिदै आएको बताइन् ।
तालिम पश्चात् प्रदान गरिएको बीउ पुजिको सहयोगले व्यवसाय संचालन गरेर महिलाहरू आत्मनिर्भर हुनसक्ने र आर्थिक रुपमा परिवार वा श्रीमानमा पुर्ण निर्भर हुने बाध्यता हट्दै जाने बताइन् । तालिममा सहभागी सन्ध्या थपलिया र इश्वरी खड्काले तालिममा सिकेको विषयसहित अनुभव र प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल प्रसाद न्यौपाने , साना किसान सहकारी सस्था खैरहनीका व्यवस्थापक चन्द्र बहादुर लामिछाने लगायतले सिकेको सिपलाई प्रयोग गर्न आग्रह गरे ।