खैरहनीमा जेठ १६ देखि १८ गतेसम्म पोलियो खोप अभियान चल्ने
चितवन , ११ जेठ । खैरहनी नगरपालिकामा जेठ १६ गतेदेखि पोलियो रोगविरुद्धको खोप (आइपिभी) अभियान संचालन हुने भएको छ । नियमित खोप अभियानमा पोलियो खोप लगाउन छुटेका बालबालिकाको लागि खोप अभियान संचालक हुन लागेको हो । नेपालमा २०७१ सालबाट पोलियोको खोप लगाउन सुरु भएकोमा २०७३ जेठदेखि २०७५ भदौसम्म खोप अभाव भएको थियो ।
उक्त समयमा खोप लगाउन छुटेका २०७३ वैशाख १ देखि २०७५ असोज ३१ सम्म जन्म भएका बालबालिकाहरु खोप लगाइने खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नवीन अधिकारीले जानकारी दिए । खैरहनीका सवै विद्यालयमा जेठ १६ देखि १८ गतेसम्म खोप केन्द्र संचालन गरिने उनले बताए । खैरहनीभित्र करिव ३ हजार २ सय ५७ जना बालबालिकालाई खोप लगाउने लक्ष रहेको छ । जेठ १६ र १७ गते विद्यालयहरुमा खोप अभियान संचालन गरिने अधिकारीले बताए । खोप अभियानको लागि विद्यालय अनुसार तालिका सार्वजनिक गरिएको छ ।
खोप अभियानको लागि आज विद्यालय शिक्षकहरुको अभिमुखिकरण गोष्ठी समेत भएको छ । उक्त अवसरमा बोल्दै खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले खोप अभियानमा सहजीकरण गर्न विद्यालयको भुमिका महत्वपूर्ण हुने भएको भन्दै सहयोग गर्न आग्रह गरे । विद्यालयमा खोप लगाउन छुटेका तथा विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई खैरहनीका १३ वटै स्वास्थ्य संस्थामा जेठ १८ गते खोप अभियान संचालन गरिने नगर प्रमुख खनियाले बताए ।