खैरहनी नगरपालिका वडा नं.२ द्वारा जेष्ठ नागरिकहरुलाई सम्मान
चितवन , १४ जेठ । खैरहनी नगरपालिका वडा नम्बर २ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ को कार्यालयले आज ९५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया र खैरहनी २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले वडा भित्र वसोबास गर्ने ८० वर्ष माथिका जेष्ठनागरिकहरुलाई दोसल्ला , सम्मानपत्रसहित सम्मान गरेका हुन् । जेष्ठ नागरिकहरुलाई सम्मानसहित थरमस र आयुर्वेदिक औषधिहरु वितरण गरिएको खैरहनी २ का वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले वृद्ध बुवाआमाको मार्गदर्शन अनुसार यो अवस्थामा पुगेको र काम गर्दै गइरहेकोले बताए । उनले एकदिन सम्मान गरेर नहुने भन्दै जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र औषधि उपचार गर्न बा आमा स्वास्थ्य कार्यक्रम अनुसार घर घरमै गएर स्वास्थ्य जाँच गर्ने अभियान संचालन गरिरहेको , विपन्नहरुलाई खाना बस्नको लागि सहजीकरण र सहयोग गर्दै आएको उनले बताए । नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि विभिन्न स्थानमा विश्राम स्थल निर्माण गर्न लागेको नगर प्रमुखको खनियाले बताए ।
सम्मान कार्यक्रममा खैरहनी २ का वडा सदस्यहरू, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियो । खैरहनी २ का वडा सचिव सुभाष कुवरले संचालन गरेको कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रमको संयोजक कृष्ण अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
























